Logo-removebg-preview

"मानव निर्मित विभेदको अन्त्य"

हामी पहिले मानव हौ

"End to man-made discrimination"

WE ARE HUMAN FIRST

किन हामी पहिले मानव हौँ 


 ब्रह्माण्ड– पृथ्वी, चन्द्रमा, सूर्य, ग्रह, तारा, नक्षत्रादि सम्पूर्ण ब्रह्माण्ड, जे कुराले निर्मित छ, त्यसलाई भूत वा महाभूत भनिन्छ । महाभूत अर्थात् अग्नि, आकाश, वायु, जल र माटो । अखिल प्रकृतिको स्रोत यी पञ्चमहाभूत आफैंमा अनु–परमाणुमा विभाजित, एकीकृत, खण्डित, अखण्डित, योग र संयोगका आधारमा मिश्रित, खण्ड मिश्रित वा अमिश्रित रुपमा देखिन्छन् । महाभूतहरू ठोश, तरल वा ग्यासको पिण्डको रुपमा रहन्छन् । खास दूरीमा रहेर पनि आपसमा आबद्ध हुन्छन् । यी कुराहरू खास सन्तुलनमा रहेर बनेको पिण्डमा जीवन सिर्जिन्छन् । त्यस्तै एक पिण्ड, हाम्रो पृथ्वी पनि हो । कुनै समय, जीवनरहित अवस्थामा रहेको यो पृथ्वीमा पञ्चभूत खास सन्तुलन पुगेपछि जीवन पल्लवित सम्भव र सफल भयो । आज, भौतिक विज्ञान यस्तै अर्को पृथ्वी खोज्दैछ, परे बसाइँ सर्न सकियोस् भनेर ।  
जीवनहरूको आआफ्नै प्रणालीहरू छन् र उनीहरू एक चक्रका अधीन पनि छन् । जीवनहरू आत्मनिर्भर पनि छन् र परनिर्भर पनि । जीवनहरूबीच सहअस्तित्वको सम्बन्ध छ । यद्यपि जीवहरू एक अर्काका लागि विनाशक पनि हुन् । मानिस पनि त्यसै चक्रको हिस्सा हो । तर मानिस अरु जीवभन्दा केही फरक छ । मानिसमा अरु जीवहरूको जस्तो भोजन, विश्राम, प्रजननजस्ता सामान्य क्रियाका अतिरिक्त विशेष क्रियायुक्त स्वभाव हुन्छ । जीवहरू चरित्रको आधारमा अनेक प्रजाति र स्वरुपमा वर्गीकृत छन् । अतिरिक्त खास खास स्वभावले युक्त भएको कारणले मानिसले आफूलाई विशिष्ट वा सर्वश्रेष्ठ जीव मानेको छ । मानिस, पृथ्वीमा उत्पन्न (असंख्य) जीवन प्रणालीको एक त्यस्तो हिस्सा हो, जसको मस्तिष्क सर्वोच्च स्तरमा विकसित छ । मानिस अन्तरावलोकन, आत्मोत्थान, अमूर्त तर्क, संपरीक्षण, साहित्य, संस्कृति आदि सर्वाधिक कलाले निपूण छ ।  
मानिसले मानवताको ख्याल गर्ने भएकाले नै उसलाई अरु जीवभन्दा भिन्न तुल्याएको छ । आफ्नो र आफ्नो प्रजातिको सुरक्षा गर्न धेरै जीव तत्पर हुन्छन्, तर मानिस आफ्नोसँगै अरु प्रजातिको सुरक्षाप्रति पनि आफ्नो दायित्व ठान्दछ । यसै कारण, अरु जीवको जीवत्व भन्दा मानिसको मानवता बढी विशिष्ट छ । मानवता के हो ? मानव हुनुको भाव नै मानवता हो । मानवताको वाद र सिद्धान्त पनि प्रचलित छ । प्रत्येक मानिसले मानवताको ख्याल गरेको हुँदैन । मानवतावादमा विश्वास गर्ने व्यक्ति मानवतावादी कहलाउँछन् । मानवताको आधारभूत चरित्र मानिस, चराचर र प्रकृतिप्रति स्नेह, प्रेम, माया, श्रद्धा, आदरको भाव हुनु हो । यी भावनाहरू विद्यमान भएका मानिस मात्र मानवतावादी हो । मानिस परस्पर सहयोगमा मात्र जीवन बिताउँछ । त्यसैले उसले पनि अरुलाई सहयोग पुर्याउनुपर्छ । खासगरी असहाय व्यक्ति र प्राणीलाई । कमसेकम असहायलाई सहायता पुर्याउनु त मानिसको कर्तव्य नै हो ।
अरुलाई सहायता गर्ने कार्य, त्यस्तो सोच नभइकन पनि मानिसले गरिरहेको हुन्छ । तर अरुको सहयोगको सोच र तत्परता हुनु भनेको विशेष कुरा हो । र, यो सोचको प्रादुर्भाव तब सम्भव हुन्छ, जब मानिसमा मानव हुनुको भाव जाग्रृत हुन्छ । मानव हुनुको भाव र चेतनाले मानिसलाई मानवतावादी चरित्र निर्वाह गर्न प्रेरित गर्दछ । त्यसैले मानिसमा मानवीय भावनाको अनुभूति र बोध हुन आवश्यक छ । उसले बारम्बार हामी पहिले मानव हौं भन्ने स्मरण गर्नुपर्दछ । ‘हामी पहिले मानव हौं’ भन्ने नामबाट यो संस्था परिचित छ । यस अर्थमा यस संस्थाको ‘नाम’ मात्र पनि मानिसमा मानवताको भावना र सोच जागृत हुन पर्याप्त छ । यस संस्थाले एक दशकदेखि ‘असहायलाई अन्न’ अभियान सञ्चालन गर्दै आएको छ । संस्थाको यस अभियानमा निरन्तर सहयोग पुर्याउँदै आएका समाजसेवी महानुभावप्रति यस संस्थाको साधुवाद छ ।